काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको जानकारी दिनुभयो ।
विद्यालयमा पढ्ने १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमूना परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो । अधिकांशलेले खोप नलगाएको पाइएकाले सोही नगरपालिका वरिपरिका पाँच सय भन्दा बढी १५ वर्ष मुनिका बालबालिकालाई निगरानीमा राखिएको छ।
पुसमा नेपालगञ्जमा पनि १५ वर्ष मुनिका बालबालिकामा दादुरा रुबेला महामारीको रुपमा देखिएको थियो । सोही समयमा १७ जिल्लाबाट ११ सय भन्दा बढी बालबालिका सङ्क्रमित भएका थिए भने एक जनाको मृत्यु भएको थियो । सोही सयमा पनि सङ्क्रमित मध्ये अधिकांशले दादुरा रुवेला विरुद्धको खोप नलगाएको पाइएको अध्ययनमा पुष्टि भएको थियो ।
देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने भन्दै सरकारले बेलाबेलामा खोप अभियान संचालन गर्दै आएको छ । तर जनचेतनाको अभाव, बसाइँ सराई र अन्य विभिन्न कारणले गर्दा बालबालिका खोपबाट बञ्चित हुँदै आएका छन् ।