हेटौँडा । क्षतिपूर्ति र मुआब्जा विवादका कारण रोकिँदै आएको भैँसे–भीमफेदी सडक निर्माणले अब गति लिने भएको छ। यो सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिकाको वडा नं। ४ र ६ मा सडक दायाँबायाँका घरजग्गा धनीले राहत र क्षतिपूर्ति पाउने भएपछि सडक विस्तारले गति लिएको हो।
बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानीसँग जोड्ने छोटो दुरीको मार्गका रूपमा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी खण्ड निर्माणाधीन छ।
घरजग्गा धनीहरूले राहत, मुआब्जा र क्षतिपूर्ति माग गर्दै सडक विस्तारमा रोक लगाउँदै आएकामा बागमती प्रदेश सरकारले राहत र क्षतिपूर्ति दिन सुरु गरेसँगै सडक विस्तारको कामले निरन्तरता पाएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले जनाएको छ।
अघिल्लो कार्यकालमै बागमती प्रदेश सभा सदस्यहरूले प्रदेश राजधानी आवतजावत गर्ने सडक साँघुरो र जोखिमयुक्त भएको भन्दै पटक पटक प्रदेश सभामा आवाज उठाएपछि प्रदेश सरकार सडक विस्तारका क्रममा भैँसे–भीमफेदी सडकखण्डमा पर्ने घरजग्गा धनीलाई राहत र क्षतिपूर्ति दिने निर्णयमा पुगेको थियो।
प्रदेश सरकारले सडक १० मिटर चौडा गर्ने क्रममा घरजग्गालगायतका संरचना पर्नेहरूलाई राहत र क्षतिपूर्ति दिन आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरे पनि कार्यविधिको अभावमा राहत र क्षतिपूर्तिबापत रकम दिन सकेको थिएन। चालु आवमा निजी जग्गाको क्षतिपूर्ति दिन कार्यविधि बनाएसँगै राहत र क्षतिपूर्तिबापत रकम दिने निर्णय गरिएको हो।
भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डलाई दुई खण्डमा विभाजन गरी सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा भीमफेदी–कुलेखानी सडकखण्डको काम पूरा हुँदा भीमफेदी गाउँपालिका–४ र ६ का सडक क्षेत्रको दायाँबायाँका घरजग्गाको राहत र क्षतिपूर्ति विवादका कारण भैँसे–भीमफेदी सडकखण्डका विभिन्न स्थानमा काम रोकिँदै आएको थियो।
यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले भैँसे–भीमफेदी सडकखण्डमा पर्ने वडा नं। ४ र ६ मा ऐलानी जग्गामा घर बनाएर बस्दै आएका २२ परिवारलाई राहतरक्षतिपूर्तिबापत रकम प्रदान गर्न चालु आवमा प्रदेश सरकारले विनियोजन गरेको रकम भीमफेदी गाउँपालिकामा निकासा गरिएको जानकारी दिनुभयो। गोरखा पत्रबाट