धार्के । धादिङको धुनिवेशी नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ। वडा अध्यक्ष, स्वाथ्यकर्मी, शिक्षक र विद्यार्थी सहितको टोलीले सचेतना अभियान सुरु गरेकोे छ ।

डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको जीवन चक्र पुरा हुन रोकियो भने लामखुट्टे उत्पादन नहुने र यसले डेंगु सङ्क्रमण पनि रोकिने भएकाले अभियान सञ्चालन गरिएको धुनिवेशी नगर स्वास्थ्य शाखाका सिनियर अहेब हेमन्त सुबेदीले बताएका छन्। अभियानमा डेंगुबाट जोगिने उपायबारे चेतना फैलाउने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने तरिका समेत सिकाइएको स्अहेब सुवेदीको भनाई छ ।
एडिस एजिप्टाई लामखुट्टेले प्राय दिउँसो टोक्ने भएकाले टोकाइबाट जोगिन पुरा बाहुला भएको र शरीर ढाक्ने कपडा लाउन, लामखुट्टेले नटोकोस भनेर शरीरमा मल्हम लगाउन, दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्न स्वास्थय कर्मीको सुझाव रहेको छ । सफा पानी जमेको स्थानमा लामखुट्टेको जीवन चक्र पुरा हुने भएकाले टायर,बट्टा भाँडाकुँडामा पानी जम्न नदिने र पानी प्रयोग हुने स्थलमा हप्तामा दुई पटक पानी फेर्न, खाल्डाखुल्डी पानी जम्ने स्थलमा मट्टितेल छर्कने जस्ता उपाय गर्न सकिने बारेमा नागरिकहरुलाई जानकारी गराइएको थियो । डेंगु नियनत्रणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू गरिरहेको वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताएका छन्।
सचेतजन कार्यक्रममा जनप्रतिनिधि,स्वास्थ्य कर्मी,रेडक्रस कर्मी,स्थानिय मेडिकल सञ्चालक, शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागीता रहेको थियो ।