गजुरी (धादिङ)– आदमघाटबाट किराञ्चोक जाने एकमात्र सडक रामबहादुर स्मृति मार्ग कालोपत्रे गर्न सुरु भएको छ ।
आदमघाटदेखि चौतारासम्म करिब ३५ किलोमिटर रहेको सडक कालोपत्रे गर्न बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८१ साल मंसिर १८ गते कार्य सम्पन्न गर्नेगरी २०८० असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको छ । नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख रुपैयाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित चार दशमलव दुई किलोमिटर सडक कालोपत्रे गर्न सम्झौता गरेको छ ।
साविकको किराञ्चोक गाविसलाई राजमार्गसँग जोड्न २०४९ सालबाट पृथ्वीराजमार्गकोे आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँग जोड्ने आदमघाटबाट सडक निर्माण सुरु गरिएको थियो । गजुरी गाउँपालिका–६ आदमघाटदेखि मिलनटार चौतारासम्म दुई दशमलव सात किलोमिटर यस यसअघि नै कालोपत्रे भइसकेको छ । अहिले आदमघाटदेखि तीन किलोमिटर दूरीलाई शून्य किलोमिटर मानेर मिलनटारदेखि पर्खालेसम्म चार दशमलव दुई किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ ।
सडक बनाउन सुरु गर्दा आदमघाट लामाचिरा भनेर सुरु गरेको भए पनि अहिले आदमघाट, पर्खाले, बरभन्ज्याङ, मजुवा थुम्किडाँडा, चौतारासम्म पुगेको छ । यस सडकको उपभोक्ता गजुरी गाउँपालिका–७ र ८ का करिब एक हजार तीन सय परिवार, वडा नं. ६ का करिब दुई सय परिवार, वडा नंं. ४ को करिब दुई सय परिवार र गल्छी गाँउपालिकाको करिब दुई सय परिवार रहेका छन् । यसैगरी मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका बासिन्दाले समेत यस सडकबाट सुविधा पाउनेछन् ।
आदमघाट चौतारा सडकको लम्बाइ ३५ किलोमिटर रहेको छ । यस सडक स्तरोन्नति तथा कालोपत्रे भएमा महाभारत लेकमा बसोबास गर्ने किसानलाई ठूलो राहत मिल्ने छ । महाभारत लेकका किसानको आर्थिक समृद्धिको मुहान फुटाउने बताउँछन् पूर्व वडाध्यक्ष एवं आलु उत्पादक किसान सोना सिङ रुम्वा ।
विगतमा नाबोबाट नै आलु भित्र्याउने गरेका किसानले पछिल्लो समय उन्नत जातका आलुका बिउ लगाउन थालेका छन् । यस वर्ष चार सय टन आलु पलेको छ ।
सडक बर्खायाममा समेत सुचारु हुने पक्कापक्की भए तीन हजार टन आलु उत्पादन गर्ने क्षमता किसानसँग छ । यस महाभारत लेकको काखमा तामाङको मात्र बसोबास भएकाले यहाँका मानिस बाँस निगालो, अम्रिसोखेती हाम्रो परम्परागत खेती नै भएको बताउँछन् । बाँस निगालोबाट डोका बुनेर, अम्रिसोबाट कुच्चो बनाए हामीले राम्रै आम्दानी गर्दै आएका छौं । किसानले बाख्रा नपाल्ने कुरौ भएन खसीबोेका बिक्री गर्न सहज हुने भएपछि संख्या बढाउन सकिने रुम्बाले बताए ।
सडक कालोपत्रे भएपछि किराञ्चोक बेंशी क्षेत्रका किसानले आफ्ना उत्पादन बर्खायाममा पनि सहज ढंगबाट बिक्री वितरण गर्न सक्छन् । सिँचाइ पर्याप्त भएको क्षेत्र भएकाले हिउँदमा समेत तरकारीखेती गरेर किसान स्वरोजगार बन्दै आम्दानी बढाउन सक्छन् । किसानको जीवनस्तर सुधारका हुनुका साथै कृषि उत्पादनमा राज्यलाई योगदान पुग्छ जस्तो लाग्छ कल्याण अधिकारीले बताए ।
यसअघि जय बाबा कन्स्ट्रक्सनका श्यामकुमार श्रेष्ठले नौ करोड २८ लाख खर्च गर्न करिब सात वर्ष लगाएर काम गरेको देखेर स्थानीयमा सडक कालोपत्रे तोकेको मितिमा सम्पन्न गर्नेमा आशंका छ । तर नाना कन्स्ट्रक्सन प्रालि धादिङका अध्यक्ष नारायणकुमार श्रेष्ठले समयमै काम सम्पन्न गर्ने दाबी गर्छन् । उनले भने, ‘काम गर्न अवरोध नआएमा, मालमेट्रियल सहज अवस्थमा उपलब्ध भएमा र काम गर्ने मजदुरलाई दुःख बिमार नपरेमा तोको समयभन्दा एक दिन भए पनि अघि काम बुझाउने गरी काम गरिरहेका छौं ।’