बागमती प्रदेशमै पहिलोपटक रेडियो लाङटाङको आयोजनामा क्षेत्रिय स्तरको मारुनी नाच प्रतियोगिता हुने भएको छ । समाजको सांस्कृतिक समृद्धिको जिवीत प्रमाणका रुपमा रहेको मौलिक बाजागाजा तथा नाचगान प्रवर्द्धन, लोक संस्कृतिलाई जगेर्ना र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको आयोजक रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताउनुभयो ।
यहि फागुन २६ शनिबार हुने प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैंया नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई छ ।
कालिकास्थानमा हुने प्रतियोगितामा सहभागिताको लागि फागुन २४ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ ।
पश्चिमा संस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मूल्य, मान्यतालाई संरक्षण गर्ने हेतूले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।