धादिङको थाक्रे गाउँपालिकाले थाक्रे गाउँ शिक्षा ऐन, २०८० पारित गरेको छ । पालिकाको केहि दिन अघि सम्पन्न गाउँ सभा तथा १४ औं अधिवेशनले उक्त ऐन सर्वसम्मतीले पारित गरेको हो ।
गाउँपालिकामा सञ्चालन भैरहेका शिक्षण सँस्थाहरुको उचित व्यवस्थापन गर्दै समय सान्र्दभिक, गुणस्तरीय, जीवनोपयोगी, वैज्ञानिक र सीपमुलक शिक्षा प्रदान गर्ने उद्देश्यले नेपालको संविधान २०७२ को धारा ५७ अनुसूची ८ को सूची नम्बर ८ तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १०२ बमोजिम गाउँसभाले थाक्रे गाउँ शिक्षा ऐन बनाएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।
ऐनमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने उल्लेख छ । उक्त बुँदा अन्तर्गत भनिएको छ, “गाउँपालिकाका जनप्रतिनिधी, सम्पुर्ण कर्मचारी, विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, शिक्षक अभिभावक सँघको पदाधिकारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेछ ।”
ऐनमा गाउँकार्यपालिकाले सामुदायिक तथा सहकारी विद्यालय स्थापना गर्न सक्ने देखि सँस्थागत विद्यालय, सहकारी वा सार्वजनिक गुठी विद्यालयमा रुपान्तरित हुन सक्ने, विद्यालय समायोजन एवम् एकीकरण गर्न र सार्न सक्ने लगायतको व्यवस्था रहेको छ ।
यो पनि : थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १४ औं अधिवेशन सम्पन्न