बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भएको छ । आर्थिक सङ्कटका कारण सरकारको आयस्रोतमा सङ्कुचन आएसँगै आर्थिक वर्षको बजेटको आकार पनि घट्ने भएको हो ।
प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकम समेत कटौती भएसँगै बजेटको आकार पनि घट्ने निश्चित भएको हो । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले आगामी आर्थिक वर्षको बजेट पनि घट्ने निश्चित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
विगतको तुलनामा फरक शैलीबाट बजेट ल्याउने दाबी गर्दै आएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार घटे पनि व्यवस्थित र व्यावहारिक ढङ्गबाट ल्याउने जनाएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई पूर्ति गर्न सुझाव सङ्कलनको काम गरिरहेको उहाँले बताउनुभयो ।
ठुला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उहाँको भनाई छ ।