नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । गोरखाकी फुञ्जोले हिजो बिहान सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।
सगरमाथा आधारशिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार अस्ति बुधवार दिउँसो ३ बजेर ५२ मिनेटमा आधार शिविरबाट आरोहण शुरु गरी हिजो बिहान ६ बजेर २३ मिनेटमा आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ ।
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोड्नुभएको हो ।
यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।