आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नागरिक पाटी

९, आषाढ २०८१
  • 2.8K
    SHARES
  • थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

    images

    राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

    राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताउनुभयो । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताउनुभयो ।

    राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराउनुभयो ।

    प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुभयो । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित हुनुहुन्थ्यो ।

    थाइल्याण्डमा कार्यभार सम्हाल्नुभएका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - ०८:५७:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology