शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

नागरिक पाटी

१३, आषाढ २०८१
  • 4.0K
    SHARES
  • एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी गराएका हुन् ।

    images
    images

    परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार २७० जना थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

    यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

    नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७.८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् ।

    बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १/१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । परीक्षा दिएका १२ जनामध्ये ८ जना भने अनुत्तीर्ण भएको बोर्डले बिहीबार जनाएको छ ।

    परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले बताए । यस्तै बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ ।

    यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सत्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।

    विषयगत आधारमा अंग्रेजीको १, गणितको ६७, नेपालीको ४, विज्ञानको १४, सामाजिकको ५, ऐच्छिक गणितको ७१, अर्थशास्त्रको १३, जनसंख्याको ७, वातावरण विज्ञानको २, स्वास्थ्य शारीरिकको ३, प्राविधिक विषयको ७ र सबै विषयको २६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

    प्रदेशगत नतिजा

    नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् ।

    यसैगरी गण्डकी प्रदेशबाट कुल ४० हजार ५२६ जना परीक्षार्थीमध्ये २० हजार २७५ जना, लुम्बिनीबाट ८० हजार ३२७ जना परीक्षार्थी सहभागी भएकामा ४९ हजार २२४ जना फेल भएका छन् ।

    यसैगरी कर्णालीबाट ३५ हजार ३४ जना परीक्षार्थीमध्ये २० हजार ३८० जना र सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् ।

    ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते

    यसैगरी एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी आएको छ ।

    जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले बताए ।

    एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

    नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन भएको बोर्डले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - ११:४०:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology