साउन १६, धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका शिक्षकहरुका लागि बालमैत्री कक्षा शिक्षण सम्बन्धि शिक्षक क्षमता विकास तेस्रो चरणको तालिम सम्पन्न भएको छ ।

विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजनाअन्तर्गत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सो परियोजना संचालन गर्दै आएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका शिक्षकहरुको लागि शिक्षामा गुणस्तर कसरी ल्याउने, बालमैत्री शिक्षा कसरी प्रदान गर्ने भन्ने लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग गर्न प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गरिरहेको प्रयास नेपाल धादिङका निमित्त कार्यकारी निर्देशक केशब सिग्देलले बताउनुभयो।
यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख बोधराज पाठकले शिक्षा क्षेत्रको बिकासका लागि सबै शिक्षकहरुलाई लगनशिलताका साथ आफुले सक्दो योगदान दिन आग्रह गर्नु भएको छ।

त्यस्तै कार्यक्रमका बोल्नु हुँदै बिशेष अतिथि एबम् प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले बेनीघाट रोराङ गाउँपालिकाले शिक्षामा धेरै लगानी गरेता पनि एसईंई को नतिजाले सबैलाई निराश बनाएको बताउनुभयो । साथै उहाँले अबको दिनमा जागिर खानका लागि मात्र नभई सबै बालबालिकाको सुरक्षित भबिष्य निर्माणमा लाग्न सबै शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्नु हुँदै गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टाप बहादुर श्रेष्ठले बिद्यालयमा पढाउँदा शैक्षिक सामग्रीको प्रयोगमा जोड दिन अनुरोध गर्नुभयो । उहाँले बिद्यालयमा बिद्यार्थीलाई पढाउदा केही कुराको समस्या भएमा गाउँपालिकाकाले सहयोग गर्ने आश्वासन दिनुभयो ।
तालिममा सहभागी रहेका शिक्षकहरुले पनि अव सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।तालिममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि , प्रक्रिया,क्रियाकलाप,आवश्यक सामाग्री लगायतका विषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गर्नुभएको थियो ।