धादिङ । उत्तरी धादिङबाट गणेश हिमाल बेस क्याम्प जाँदै गर्दा खोचमा बिरामी परेकाका टोलीको खबर पाएको २७ घण्टापछि उद्धार गरिएको छ ।
कात्तिक २२ गते वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यसहित १५ जनाको टोली गणेश हिमाल बेस क्याम्पतर्फ जाँदै गर्दा रुवी भ्याली गाउँपालिकाको आखु नदिको मुहान नजिक खोचमा पुगेपछि आचार्य र प्राविधिक सहायक अनुशिया ढुङ्गानालाई स्वासप्रस्वासमा समस्या भएको थियो ।
गणेश हिमाल बेस क्याम्प गणेशकुण्ड, कालो दह, सेतो दह गणेश हिमालको अध्यायन अनुसन्धान तथा संरक्षित क्षेत्र घोषणा गर्ने उदेश्यले गएका टोली चिसोको कारण खोँचमा बिरामी परेको खबर पाएपछि बुधबार नै हेलीकोप्टर मार्फत उद्धारको प्रयास गरिएको भए पनि खराब मौसमको कारण हेलिकप्टर यसै फर्किएको थियो ।
आज बिहानदेखि प्रयास गर्दा मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको अहिले दिउँसो १ : ३० बजे उद्धार गरिएको छ ।
उद्धार गरिएका मध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइ उपचार थालिएको छ भने अन्य सामान्यलाई हिन्दुङ गाउँमा छोडिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो।
पदयात्रा टोलीमा गएका २ बाहेक डिभिजन वन कार्यालय धादिङका टोलीसहित साहित्यकार र सञ्चाकर्मीको अवस्था सामान्य रहेको छ ।