धादिङ । धादिङको गल्छीमा शनिवार सम्पन्न भएको दोस्रो जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि गल्छीका खेलाडी सबिन खतिवडाले जितेका छन् ।
नमुना बागेश्वरी बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा भेट्रान खेलाडी खिम प्रसाद अमगाई, उच्च रेटेड खेलाडी रामेश्वर मल्ल र तारामान श्रेष्ठ लगायतका खेलाडी माथि जित हासिल गर्दै अनरेटेड खतिवडा सत प्रतिशत नतिजाका साथ धादिङ च्याम्पियन बन्न सफल भएका हुन् ।
जिल्ला भरीका ३६ जना खेलाडी सहभागी भएको प्रतियोगितामा रामेश्वर मल्ल दोस्रो र तारामान श्रेष्ठ तेस्रो भएका छन्। पासाङ तामाङ चौथो हुदै गर्दा निवर्तमान धादिङ च्याम्पियन मनिष कोइराला भने पाचौं स्थानमा पुगेका छन् ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले शनिवार एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, गाउँपालिका पूर्वअध्यक्ष कृष्णहरी श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
नमुना बागेश्वरी बहुमुखी क्याम्पसका उत्कृष्ट खेलाडीको उपाधि अपिल रिमालले जितेका छन् भने भेट्रान र अन्डर १६ को उपाधि भने क्रमशः खिम प्रसाद अमगाई र एलेक्स गर्तौलाले हात पारेका छन् । प्रतियोगितामा शुभाना श्रेष्ठ महिला च्याम्पियन बन्न सफल भएकी छिन्।
प्रतियोगिताले भविष्यका लागि नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने क्याम्पसका अध्यक्ष रेशमराज खतिवडाले वताउनु भयो । प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिईएको थियो । प्रथम हुनेले नगद १० हजार, दोस्रोले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार, चौथो हुनेले नगद ३ हजार, पाँचौ हुनेले नगद २ हजार, महिला तर्फ उत्कृष्ठ एकजनालाई नगद २ हजार र १६ बर्ष मुनिका एक जना र ५५ बर्ष माथिका एक जना उत्कृष्ठ खेलाडीले नगद दुई हजार पुरस्कार पाएका छन् । पहिलो,दोश्रो र तेश्रो हुनेले नगदका साथै मेडल र प्रमाणपत्र पनि दिईएको थियो ।