गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’ को नयाँ गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।
यो गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर तथा परिकल्पना, संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लु अनि संगीत संयोजन योगेश काजी शाहको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।
यो फिल्म आगामी चैत २२ गते चैते दशैँको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुँदैछ । फिल्ममा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु) , अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा यो फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
यो फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरण गर्नेछन् ।