काठमाण्डौ । बीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड (नेपालथोक–बर्खेखोला) को पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण कार्यका लागि सडक डिभिजनले आज ठेक्का आह्वान गरेको हो । ठेक्का ३० दिनमा खोलिनेछ ।
क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि चार प्याकेजमा काम थालिएको हो । अब बाँकी तीन वटा प्याकेज काभ्रेतर्फको सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ ।
अर्थमन्त्रालयले यही फागुन पहिलो हप्ता बीपी राजमार्ग पुनर्निर्माणका लागि आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।
बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म सडकमा क्षति पुर्याएको थियो । त्यसमा झण्डै आठ किलोमिटर सडकको संरचना नै क्षतविक्षत छ ।