आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा सुरूङको काम ८७ प्रतिशत सकियो, पूर्ण सञ्चालन कहिले ?

नागढुंगा सुरूङको काम ८७ प्रतिशत सकियो, पूर्ण सञ्चालन कहिले ?

नागरिक पाटी

१, चैत्र २०८१
  • 6.4K
    SHARES
  • नागढुंगा सुरूङको काम ८७ प्रतिशत सकियो, पूर्ण सञ्चालन कहिले ?

    नागढुंगा सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८७ प्रतिशत काम सकिए पनि पूर्ण सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्ने आयोजनाले जनाएको छ । सुरूङ निर्माणमा देखिएको अवरोध तथा सुस्त गतिका कारण ४२ महिनामा निर्माण सकिनुपर्ने अझै सकिएको छैन । राजधानी भित्रिन सहज बनाउने नागढुंगा सुरूङ मार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

    images

    आयोजनाको झन्डै ८७ प्रतिशत काम सकिए पनि नियमित यातायात सञ्चालनको लागि अझै एक वर्ष लाग्नेछ । आयोजनाको काम करिब अन्तिममा पुग्दा पनि सञ्चालन मोडालिटी भने तयार भएको छैन । सुरूङ मार्ग सन् २०२५ को अन्त्यमा ‘सफ्ट ओपनिङ’को तयारी छ ।

    सुरूङ मार्गको मुख्य ढलान सकिएको छ । आपत्कालीन उद्दारतर्फको ढलानको काम आधा सकिएको आयोजनाले जनाएको छ । त्यसको तीन महिनापछि मात्रै नियमित रूपमा सवारी सञ्चालन हुने सुरूङ मार्गका सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । यसको लागि अझै एक वर्षबढी समय लाग्ने पन्थीले जनाए । आपतकालीन अवस्थाबाहेक अन्यका लागि अझै एक वर्षको समय लाग्ने उनले जानकारी दिए ।

    सफ्ट ओपनिङमा सीमित गाडीहरू मात्रै सञ्चालन हुनेछ । सफ्ट ओपनिङमा टोल शुल्क लिने वा नलिने बारे हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । यस्तै बलम्बुतर्फको फ्लाई ओभरको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    आयोजनामा स्थानीयको अवरोध तथा कोरोनाले गर्दा पटक–पटक म्याद थप गरिरहेको छ । यसपटक भने समयमै सकिने पन्थी बताउँछन् । सुरूङ मार्गको टेस्टिङका लागि जापानी टोली आउने तयारी रहेको पन्थीले जनाए । गत साता एउटा घरमा क्षति भएको भन्दै अवरोध भएको थियो । कुनै अवरोध नभएमा निर्धारित मितिमा आयोजनाको काम पूरा हुनेछ ।

    सुरूङ मार्ग ०७६ कात्तिक ४ बाट निर्माण सुरू भएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोभिडको बाहना देखाएर म्याद थप भएको थियो । सोहीअनुसार सरकारले पटक–पटक गरेर थप दुई सम्झौता गरेको छ ।

    पहिलो सम्झौताअनुसार सुरूङमार्गको कार्य सम्पन्न नभएपछि पहिलो पटक ०८० असार मसान्तसम्म समय थपिएको थियो । सो पछि ०८१ वैशाख १३ सम्म म्याद थपे पनि काम सकिएन । आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ  । आयोजना सुरू गर्दा ४२ महिनामा सक्ने लक्ष्य थियो ।

    तर, आयोजना सुरू भएको ६४ महिनासम्म पनि पूरा भएको छैन । आयोजनामा सवारी गुडाउन अझै एक वर्ष लाग्नेछ । सुरूङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब ७ मिनेटमा यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।

    सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ मिनेट बढी लाग्ने गरेको छ । सुरूङ मार्ग बनेपछि यसले ७ मिनेटमा आवाजावत गर्न सकिने आयोजनाले जनाएको छ । सुरूङको दुरी दुई हजार ६८८ मिटर रहेको छ । मुख्य सुरूङसँगै आपत्कालीन सुरूङ समेत निर्माण भइरहेको छ ।

    आपतकालीन सुरूङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जानकारी दिएको छ । सुरूङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । जसको कुल ठेक्का रकम २२ अर्ब रूपैयाँ छ । सुरूङमार्ग निर्माणको लागि जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब लगानी छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १४:५४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology