धादिङको बेनीघाट रोराङ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको हो ।
पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले व्यावसायिक सीप हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भर जीवनशैली प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै अवसर पाएमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको र उक्त कार्यक्रमले सहभागीहरूलाई आत्मनिर्भरताको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठको भनाई छ ।
तालिममा २० जना अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।