धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा सञ्चालन भैरहेको उत्थानशील जीविकोपार्जन तथा सुदृढ खाद्य सुरक्षा (रिलिफ) परियोजनाको स्थलगत अनुगमन गरिएको छ ।
आड्रा नेपालको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको परियोजनाको आज गाउँपालिका, सहयोगि संस्था आड्रा नेपाल र सञ्चारकर्मीहरुको समूहले अनुगमन गरेको प्रयास नेपालका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनुभयो ।
अनुगमनका क्रमका विभिन्न कृषि तथा पुपालन समूहमा निर्माण भएको बाख्राको खोर, जलवायु उत्थाशील कृषि नर्सरी, लैंगिक समनता तथा सामाजिक समावेसीकरण र समूह परिचालनमा भएका कामहरु हेरिएको थियो । किसानहरुले परियोजना राम्रो रहेको र परम्परागत रुपमा गर्दै आएको कृषि प्रविधिलाई जलवायु उत्थानशील प्रविधिमा रुपान्तरण गर्दा उत्पादनमा वृद्धि भएको अनुगमन समूहलाई जानकारी गराएका थिए ।
अनुगमनका क्रममा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले गाउँपालिका पनि कृषि क्षेत्रको विकासमा काम गरीरहेको बताउँदै सहयोगि हातको रूपमा परियोजनाले धेरै सहयोग गरेको बताउनु भयो । उपाध्यक्ष सिम्खडाले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो । किसानहरुसंग कुरा गर्दै उपाध्यक्ष सिम्खडाले नयाँ र जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आय आर्जन बढाउन र जलवावायु परिवर्तनको असरलाई कम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो । यसकालागि गाउँपालिका पनि किसानलाई सहयोग गर्न दृढ रहेको उहाले बताउनु भयो ।

अनुगमनका क्रममा आज वडा नं। ३, ४ र ५ मा गठन भएका विभिन्न कृषि तथा पशुपालन समूहले गरेका कामहरु हेरिएको पनि फिल्ड संयोजक प्याकुरेलले जानकारी दिनुभयो । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ पौडेल, ५ नं वडा अध्यक्ष कुमार अधिकारी, ४ नं वडा अध्यक्ष प्रेम बहादुर घले, ३ नं वडा अध्यक्ष राजकुमार गुरुङ, कृषि तथा पशुसेवा शाखाका प्राविधिकहरू, प्रयास नेपालका अध्यक्ष विरबहादुर तामाङ, आड्रा नेपालका कार्यक्रम अधिकृत दिलिपचन्द्र ढकाल, परियोजनाका विभिन्न जिम्मेवारीका कर्मचारीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
अनुगमनमा किसानहरुसंग परियोजना सञ्चालनको एक वर्षमा भएका कामहरु, समस्या र चुनौतिहरु बारे छलफल भएको थियो । रिलिफ परियोजना यहि रुपमा खनियाबास गाउँपालिकामा पनि सञ्चालन भैरहेको प्रयास नेपाल धादिङले जनाएको छ ।