एउटा सुन्दर र भव्य घरको कल्पना गरौँ। सबैभन्दा माथिल्लो तला चम्किलो छ। झ्यालमा महँगा पर्दा छन्। भित्तामा सुन्दर रंग छ। बैठक कोठामा महँगा फर्निचर छन्। बाहिरबाट हेर्दा घर सम्पन्न देखिन्छ।
तर त्यो घर उभिएको छ कहाँ ? पक्कै पनि बलियो जगमाथि !
जग देखिँदैन। कसैले त्यसलाई सजाउँदैन। त्यसको चर्चा पनि हुँदैन। तर जग कमजोर भयो भने माथिको सबै वैभव एकैपटक ढल्न सक्छ।
वास्तुकलामा भवनको सबैभन्दा तल्लो काठको आधारलाई ‘Mudsill’ भनिन्छ। यही आधारमाथि सम्पूर्ण संरचनाको भार टिकेको हुन्छ।
अमेरिकी राजनीतिज्ञ जेम्स हेनरी ह्यामन्डले यही वास्तुकलाको संरचनालाई समाजको रूपक बनाए। उनको तर्क थियो, हरेक सामाजिक व्यवस्थालाई कठिन, सामान्य र श्रमसाध्य काम गर्ने एउटा तल्लो वर्ग आवश्यक हुन्छ । उनले त्यस वर्गलाई समाज र राजनीतिक शासनको ‘mudsill’ अर्थात् आधार/जग भनेका छन्।
James Henry Hammond (१८०७–१८६४) अमेरिकी राजनीतिज्ञ, लेखक तथा दक्षिण क्यारोलिनाका प्रभावशाली दासप्रथा समर्थक (pro-slavery) नेता थिए। उनी दक्षिण क्यारोलिनाबाट अमेरिकी प्रतिनिधिसभा र पछि अमेरिकी सिनेटमा पुगेका थिए। उनी १८५७–१८६० बीच अमेरिकी सिनेटर थिए।
ह्यामन्ड विशेषतः सन १८५८ मा अमेरिकी सिनेटमा दिएको भाषण, जसलाई पछि “Mudsill Speech” भनेर चिनियो, त्यसैका कारण इतिहासमा चर्चित छन्।
उनले समाजलाई एउटा भवनसँग तुलना गर्दै तर्क गरे कि भवनलाई तलको आधारले जसरी थाम्छ, त्यसरी नै समाजको माथिल्लो संरचना टिकाउन कठिन र सामान्य श्रम गर्ने एउटा तल्लो वर्ग आवश्यक हुन्छ। हरेक समाज तल्लो वर्गले धानेको हुन्छ ।
तर ह्यामन्डको यो विचार श्रमको सम्मान गर्ने दर्शन थिएन। उनी दासप्रथा समर्थक थिए र ‘mudsill theory’ मार्फत अमेरिकी दासप्रथालाई सामाजिक व्यवस्थाको आवश्यक अंगका रूपमा औचित्य दिने प्रयास गरेका थिए।
त्यसैले समाज धान्ने आधारभुत वर्गको कुरा गर्दा ह्यामन्डको निष्कर्षलाई समुल स्वीकार गरेर होइन, बरु उनले प्रयोग गरेको रूपकलाई हाम्रो सामाजिक सन्दर्भमा आलोचनात्मक ढंगले बुझ्न र व्याख्या गर्न भने आज पनि उत्तिकै महत्त्वपूर्ण छ।
हाम्रो समाजको ‘Mudsill’ को हो?
यो प्रश्नको उत्तर खोज्दा हामी नेपालको जातीय र पेशागत इतिहासतिर पुग्छौँ। हाम्रो परम्परागत समाजमा कामको विभाजन खाली आर्थिक मात्रै थिएन, त्यो जातीय संरचनासँग पनि गाँसिएको थियो।
कसैले खेती गर्थ्यो, कसैले फलामका औजार बनाउँथ्यो, कसैले कपडा सिलाउँथ्यो, कसैले छालाको काम गर्थ्यो, कसैले बाजा बजाउँथ्यो, कसैले सरसफाइ गर्थ्यो। समाजको दैनिक जीवन चलाउन यी सबै काम अपरिहार्य थिए।
तर विडम्बना ! सबै काम आवश्यक थियो अनि काम गर्ने मानिस चाहिँ आवश्यक थिएनन् जस्तो व्यवहार गरियो । श्रम चाहियो, तर श्रमिकलाई समान सम्मान भने कहिल्यै दिइएन। सीप चाहियो, तर सीपको मालिकलाई सामाजिक बराबरी कुनै हालतमा दिइएन। आरनले बनाएको औजार चाहियो, तर औजार बनाउने हातलाई छुवाछूतको घेराभित्र राखियो।
यही विरोधाभास नेपालको जातीय इतिहासको सबैभन्दा पीडादायी पक्षमध्ये एक हो । यसको अवशेष नेपाली समाजमा अझै छँदैछ।
कामीले बनाएको औजार खेतमा पुग्यो। तर औजार बनाउने हात समाजमा ‘तल्लो’ बनाइयो। दमाई/परियारको सिलाइ र बाजा चाहियो। तर त्यही सीप बोकेको मानिसलाई बराबरको सामाजिक स्थान दिइएन। सार्की/मिजारको छालासम्बन्धी सीप चाहियो। तर सीपभन्दा उसको जात सानो बनाइयो। सफाइकर्मीको श्रम चाहियो तर सफा गर्ने हातलाई नै अपवित्र ठानियो।
समाज, श्रम र विडम्बना !
यी कामको सामाजिक उपयोगिता र काम गर्ने मानिसको सामाजिक प्रतिष्ठाबीच ठूलो दूरी बनाइयो। समाजलाई जसको श्रम चाहिन्थ्यो, समाजले उसैलाई तल राख्यो।
यसरी ‘mudsill’ रूपकसँग तुलना गरेर हेर्दा नेपालको सन्दर्भमा दलित समुदाय लगभग निकै नजिक देखिन्छ । तर ‘mudsill’ खासमा कुनै एउटा जात होइन। यो मूलतः समाजको आधारभूत श्रम गर्ने तर ऐतिहासिक रूपमा शक्ति, प्रतिष्ठा र अवसरमा पछाडि पारिएको सामाजिक भूमिकाको रूपक हो।
नेपालमा हिजो त्यो भूमिका जातसँग जोडिएको थियो। आज त्यसको स्वरूप बदलिएको छ। समय बदलिएको छ। आज समाजको जग खाली परम्परागत जातीय पेशाले मात्रै थामेको छैन।
आज काठमाडौंका अग्ला भवन कसले बनाउँछ?
सडकमा डामर कसले हाल्छ?
हामीले फालेको फोहोर कसले उठाउँछ?
हाम्रा खेतमा पसिना कसले बगाउँछ?
हातमा ठेला उठाएर अन्न र तरकारी कसले फलाउँछ ?
होटल, कारखाना र निर्माणस्थल कसले चलाउँछ?
जरुर, यी सबै काम किसान र मजदुरले गर्छन्।
खाडी, मलेसिया, कोरिया वा अन्य देशमा कठोर श्रम गरेर घर पठाएको पैसाले कति नेपाली परिवारको चुलो बलिरहेको छ?
हामीले उनीहरूलाई के नाम दिएका छौँ?
मजदुर । तर के मजदुर हुनु अपमान हो ?
सोचौ त ! यदि मजदुर नहुने हो भने, घर कसले बनाउँछ ?
सडक कसले बनाउँछ ?
शहर कसले सफा गर्छ ?
उद्योग कसले चलाउँछ ?
यदी किसान नहुने हो भने खेत कसले जोत्छ ?
हामीले खाने अन्न, तरकारी र फलफूल कहाँ कसले उब्जाउँछ ?
त्यसपछिको अवस्था झन् यती गम्भीर हुन्छ की, यदि श्रमजिवी वर्गको श्रम हटाइदिने हो भने हाम्रो ‘सभ्य’ समाज कति दिन टिक्ला ?
हाम्रो सभ्यता कति दिन बाँच्ला ?
सुकिला मुकिलाको चमक धमक र रजगज कसरी चल्ला ?
विडम्बना ! हामीले समाजमा कामको महत्व र श्रमको मूल्यभन्दा काम गर्ने मानिसको पेशागत वर्गीकरण गरेर सामाजिक हैसियतलाई ठूलो र सानो बनायौ । अलग थलग गयौँ ।
कुनै कामलाई ‘ठूलो’ भन्यौँ ।
कुनै कामलाई ‘सानो’ भन्यौँ ।
त्यसपछि कामसँग जात जोड्यौँ ।
जातसँग प्रतिष्ठा जोड्यौँ ।
प्रतिष्ठासँग अवसर जोड्यौँ ।
अनि पुस्तौँपुस्ता सम्म सामाजिक दूरी बनाउँदै गयौँ।
सन्देश र सिकाई :
यसरी समाजको मनभित्र कुनै कामलाई ‘तल्लो’ र कुनै मानिसलाई ‘तल्लो’ ठान्ने सोच बाँकी रह्यो भने विभेदको जरा अझै बाँकी नै रहन्छ। नवयुवा पुस्ताले यसमा आफुलाई सच्याउनै पर्छ । दृष्टिकोण बदल्नै पर्छ।
अब हामीले एउटा कुरा स्वीकार गर्नुपर्छ।
श्रमको कुनै जात हुँदैन। हलो बनाउने हात र हलो समाउने हातको मानव मूल्य फरक हुँदैन। सडक बनाउने हात र त्यही सडकमा गाडी गुडाउने हातको मर्यादा फरक हुँदैन। फोहोर सफा गर्ने हात र सफा घरमा बस्ने हातको मानव सम्मान फरक हुँदैन। र हुनु पनि हुँदैन।
समाजको वास्तविक आधुनिकता अग्ला भवन, चौडा सडक र चम्किला शहरमा मात्र हुँदैन। श्रम गर्ने मानिसलाई हामी कति सम्मान गर्छौँ, त्यसमा हुन्छ।
हामीले माथिल्लो तला हेरेर भवन बलियो छ भन्नु जति गलत हुन्छ , सुकिला मुकिला वर्ग मात्रै हेरेर समाज विकसित भयो भन्नु पनि उत्तिकै कमजोर विश्लेषण हुन जान्छ ।
जसरी कुनै पनि भवनको शक्ति माथिल्लो तलाले होइन, जगले निर्धारण गर्छ। त्यसैगरी समाजको सभ्यता र मानवीय मूल्य पनि आधारभुत/ श्रमिक वर्ग प्रतिको सम्मान, बुझाई र व्यवहारले प्रदर्शन गर्छ ।
समाज पनि घरको जग जस्तै हो। हामीले जसलाई देखेनौँ, उसैले धेरै भार बोकेको हुन सक्छ। हामीले जसलाई ‘तल्लो’ भन्यौँ, उसकै श्रमले हाम्रो ‘माथिल्लो’ संसार सम्भव भएको हुन सक्छ।
हामीले बुझ्नुपर्छ की, जसरी जगलाई कमजोर बनाएर कुनै भवन बलियो हुँदैन। ठीक उसैगरी श्रमलाई अपमान गरेर कुनै समाज सभ्य हुँदैन ।
लेखकका अन्य लेखहरु :
पैसामुखी र भ्रष्ट समाज निर्माणको तयारी ! के जोड्यौ ? कति कमायौ ?
https://nagarikpati.com/2026/09/25/29680
‘तिमीहरूले यसपटक पनि केही सिकेनौ ?’ प्रकृतिले फेरि सोध्नेछ !
https://nagarikpati.com/2026/09/15/29651
डाँडामा बस्ती, बेँसीमा खेती : पुर्खाको बुद्धिमत्ताबाट हामीले के सिक्ने ?
https://nagarikpati.com/2026/09/04/29617
बलात्कारी को हुन् र कहाँ बस्छन् ?
https://nagarikpati.com/2026/08/25/29577
जेनजी सपना ! इतिहासकै युवामय संसद र फितलो प्रस्तुती
https://nagarikpati.com/2026/08/16/29541
बिदा नै बिदाको चाङ् ! पचास दिन नयाँ बिदा थप !
https://nagarikpati.com/2026/08/08/29499