आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा एउटा यस्तो घटना : श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि

धादिङमा एउटा यस्तो घटना : श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि

नागरिक पाटी

२१, बैशाख २०८२
  • 17.9K
    SHARES
  • धादिङमा एउटा यस्तो घटना : श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि

    धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परे । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको प्रहरीको भनाई छ ।

    images

    जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् ।

    प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुवालबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । यसैबिच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराए ।

    उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा रकम फिर्ता गर्न दबाब दिएको पाइएको डीएसपी हमालको भनाई छ ।

    कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरे । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।

    अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १४:३८:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology