उत्तरी धादिङको सिङ्ल्हामा प्रथम सिङ्ल्हा पर्यटन महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको आयोजनामा वैशाख २७ गतेदेखि २९ सम्म तीन दिने महोत्सव सम्पन्न भएको हो ।समाजले बुद्ध जयन्तीको अवसर पारेर सिङ्ल्हामा विशेष धार्मिक एवम् सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपोभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो ।
सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै तामाङ समुदायका बोम्पो (झाँक्री) र लामाहरू प्रत्येक वर्षको भदौ पूर्णिमा(जनै पूर्णिमा)को दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । बोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरूलाई दीक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । पुराना बोम्पोहरू थप शक्ति बढाउन र नयाँ बोम्पोहरू गुरुबाट दीक्षित हुन सिङ्ल्हा जाने गर्दछन् ।