नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ ।
निर्माण कम्पनीले आगामी कात्तिक ७ गतेसम्ममा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखे पनि सुरुङ सञ्चालनका लागि आवश्यक तालिम, परीक्षण र सुरुङ हस्तान्तरण प्रक्रियाका लागि थप दुई–तीन महिना लाग्ने आयोजनाका निर्देशक सौजन्य नेपालले जानकारी दिए ।
हाल सुरुङभित्र जडान भएका उपकरणको परीक्षण, सडक सुरक्षा मार्किङ र अन्तिम चरणका काम भइरहेका छन् । आयोजना निर्देशक नेपालका अनुसार अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पोर्टल बाहिरको पहिरो नियन्त्रणको काम भइरहेकोमा मनसुनका कारण केही प्रभावित भएको छ । ‘सोल नेलिङ’ प्रविधिबाट भइरहेको पहिरो नियन्त्रणको काम करिब ७० प्रतिशत सकिएको र मनसुन सकिएपछि बाँकी काम सम्पन्न गरिने जनाएको छ । आयोजनाको वित्तीय प्रगति ८५ प्रतिशत रहेको छ ।
कोभिड महामारी, पटक(पटक स्थानीयसँगको विवादलगायत कारण यो आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । यसको ठेक्का सम्झौताअनुसार सुरुको म्याद २०८० वैशाख १३ गतेसम्म म्याद रहेको थियो । तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि २०८१ वैशाख १३ गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः २०८२ कात्तिक ८ गते ९(२५ अक्टोबर २०२५) सम्मका लागि म्याद थप गरिएको थियो ।