सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर प्रस्तावितभन्दा बढाएर तोकेको छ । मन्त्रिपरिषद् बैठकले साना सवारीको दस्तुर घटाएर ठुलाको बढाएको हो । सडक बोर्डले वैज्ञानिक अध्ययनमा आधारित रहेर शुल्क निर्धारण गरिएकाले सुरुङमार्ग प्रयोग गर्दा ७० प्रतिशतसम्म खर्च बचत हुने दाबी गरेको छ ।
जसअनुसार कार/भ्यानहरू काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ । कार भ्यान, जीप, पिकअप, माइक्रोबसलाई काठमाडौँ प्रवेशमा प्रतिपटक ७५ रुपैयाँ र जाँदा ५० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाइएको थियो । जसमा आउँदा १० रुपैयाँ घटाइएको हो भने जाँदा १० रुपैयाँ शुल्क बढाइएको छ ।
यस्तै मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुल्क निर्धारण गरी प्रस्ताव पठाएकोमा प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरी स्वीकृत गरिएको छ ।
बस तथा ट्रक काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा बस तथा ट्रक प्रवेशमा २५० र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरी प्रस्ताव पठाइएको थियो ।
यस्तै भारी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ । भारी सवारीलाई प्रवेशमा ५०० र बाहिरिँदा ३०० रुपैयाँ तोक्न प्रस्ताव गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरुङमार्ग प्रयोग गर्न बाध्यात्मक नरहेको यो स्वेच्छिक रहेको बताए ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले यो दस्तुर वैज्ञानिक अध्ययन र सवारीसाधनलाई लाग्ने वास्तविक खर्चका आधारमा गरिएको बताए ।
घुमाउरो बाटो प्रयोगमा रोकावट नभएको तर घुमाउरो बाटो प्रयोग गर्दा लाग्ने समय, इन्धन र सवारीको मर्मत खर्च बढी लाग्ने भएकाले सुरुङमार्ग व्यवहारिक र आर्थिक रूपमा फाइदाजनक भएको उनको तर्क छ ।
सडक बोर्ड ऐनको दफा ५ को उपदफा ‘घ’ ले दस्तुर निर्धारणका लागि सरकारलाई सुझाव दिने अधिकार सडक बोर्डलाई दिएको छ । सोही अधिकार प्रयोग गर्दै बोर्डले शुल्क सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले त्यसलाई सडक दस्तुर उठाउने कार्यविधि, २०८१ अनुसार स्वीकृत गरेको हो ।
२.६ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँदेखि सिस्नेखोलासम्म ८ किलोमिटर सडक छोटिन्छ ।
संकलित दस्तुर सडक बोर्डको खातामा जम्मा हुने र सोही सुरुङमार्गको नियमित मर्मतसम्भार, सञ्चालन र व्यवस्थापनमा खर्च गरिने केसीको भनाई छ । तर पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र उक्त संकलित शुल्क खर्च हुने उनले बताए ।
यी सवारी र पैदलयात्री प्रवेश गर्न नपाउने
यो सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत भइसकेको छ । निर्देशिकाअनुसार के–कस्ता सवारी चलाउन पाइने/नपाइनेलगायत मापदण्ड उल्लेख गरिएको छ । सडकमा क्षति पुग्ने तथा यात्रुको आवागमन प्रभावित हुने देखिएमा त्यस्ता सवारीसाधनलाई निषेध गर्न सकिने निर्देशिकामा उल्लेख छ । साथै पैदलयात्री, दुईपाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन प्रवेशमा भने रोक लगाइएको छ ।
नन–मोटराइज्ड सवारीसाधन र जोखिमयुक्त मालसामान बोकेका डिजल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्ज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीसाधनले सुरुङ मार्गमा ओहोरदोहोर गर्न पाउँदैनन् ।
सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार सवारीको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ । यस्तै चिह्न, संकेत निर्दिष्ट गरेकोबाहेक ओभरटेक गर्न, युटर्न गर्न, अकस्मात् लेन परिवर्तन गर्न र सवारी रोक्न, विशेष परिस्थितिबाहेक हर्न बजाउन पनि रोक लगाइएको छ ।
हाल यो सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । करिब ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस माघभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।