करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनुपरेको थियो । तर, बिहीबार बिहान मध्य तेल अभिभको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुसी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो ।
समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्याहट मच्चियो । स्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेसन गरियो, मिठाई बाँडियो, अनि हाँसो र आलिसन सहित आँसु बगाए । गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ स्क्वायरमा उत्साह र आशाको लहर फैलियो । इजरायली तथ्यांकअनुसार, सुरुमा अपहरणमा परेका २५० जनामध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ ।
७ अक्टुबरको भयावह बिहानदेखि बन्धक परिवारहरूले प्रत्येक दिन, घण्टा र सेकेन्ड गन्दै बिताएका थिए ।