प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सात दिन मात्र बाँकी रहँदा काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।
आगामी फागुन २१ गते हुने निवाचनका लागि कार्यालयमा केही समय सर्भरमा समस्या देखिए पनि नाम दर्ता प्रक्रिया झन्झटमुक्त रहेको र धेरै समय लाइनमा बस्नु नपरेको सहभागीहरूले बताएका छन्।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा खुसी लागेको सेवाग्राहीहरुले बताए । आफू जेनजी पुस्ताको भएकाले अब आउने नेतृत्व युवा हुनुपर्ने र मतदानका लागि आफू तयार भएको उनले जानकारी दिइन्।
कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीका अनुसार मतदाता नामावली दर्ताको काम ७७ वटै जिल्लाबाट भइरहेको कारणले सर्भरमा चाप बढेर केही समस्या देखिएको जानकारी दिइन् ।
मतदान गर्न योग्य तर नाम दर्ता नगरेका सर्वसाधारणलाई निर्वाचन कार्यालयले बाँकी समयभित्र आफ्नो नाम दर्ता गर्न आग्रह गरेको छ।