आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ भोलिबाट सुरु

गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ भोलिबाट सुरु

नागरिक पाटी

१, पौष २०८२
  • 4.3K
    SHARES
  • गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ भोलिबाट सुरु

    धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा ‘गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ आयोजना हुने भएको छ। भौगोलिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रमा आयोजना हुन लागेको महोत्सवले स्थानीय कृषि, संस्कृति र व्यापारलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

    images

    राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको मुख्य आयोजनामा सञ्चालन हुने महोत्सव आगामी २०८२ साल पौष २ गतेदेखि पौष १५ गतेसम्म चल्नेछ। धादिङको गल्छी–८ मा तामाङ, मगर, क्षेत्री–ब्राह्मणलगायत विभिन्न समुदायको बसोबास छ भने यहाँको मुख्य पेसा कृषि हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई महोत्सवमार्फत राष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको आयोजकको भनाइ छ।

    ‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखिएको छ। महोत्सवमा नुवाकोट र धादिङ भेगका विशिष्ट कृषि उपज मास, पिडालु, स्ट्रबेरी, कफीलगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ। साथै स्थानीय हस्तकला र औद्योगिक सामग्रीसमेत प्रदर्शनीमा राखिनेछ।

    मनोरञ्जनतर्फ राष्ट्रिय कलाकार ज्योति मगर, प्रिति आले, पशुपति शर्मा, प्रमोद खरेल, रचना रिमाल, सुगम पोखरेल र एलिना चौहान, ईन्द्रेणी टिम लगायतको सांगीतिक प्रस्तुति रहने जनाइएको छ। यसैगरी लोकदोहोरी कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। नेवारी, तामाङ र मगर समुदायका परम्परागत खानाका स्टलहरू, ट्राउट माछाका परिकारसमेत महोत्सवका प्रमुख आकर्षणका रूपमा रहनेछन्।

    महोत्सवमा ८० देखि १०० वटा स्टल रहने व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र जेष्ठ नागरिकका लागि छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न अनुमानित ५७ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने विवरण तयार पारिएको छ। मुख्य प्रायोजक, प्रायोजक र सह–प्रायोजकका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्मका प्रचार–प्रसार तथा सम्मानका प्याकेजसमेत व्यवस्था गरिएको छ।

    यसै अवसरमा गल्छी बगर रिसोर्टको समन्वयमा मोटरबोट सयरको व्यवस्था गरिने जनाइएको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक तथा स्थानीयवासीले व्यक्त गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०८२ मंगलवार - ०७:४४:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology