आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

नागरिक पाटी

८, पौष २०८२
  • 2.4K
    SHARES
  • माघको अन्तिम सातादेखि पाठेघर क्यान्सरविरुद्धको खोप लगाइँदै

    काठमाडौं । सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपीभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

    images

    सोमबार आयोजित अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

    कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताए । उनले भने, “खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ । यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ ।”

    शाखा प्रमुख डा.गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।

    “विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका हौँ”, डा.गौतमले भने, “कुनै भ्रम र गलत सूचनामा विश्वास नगरी ढुक्क भएर खोप लगाउन लक्षित वर्गलाई हाम्रो आग्रह छ ।”

    बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले सुनाए ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।

    डा. गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताए । रासस

    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०८२ मंगलवार - ०७:३१:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology