नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गरिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारवालाको अनुगमनपश्चात् बाल सुधार केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको हो । यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।
जिल्ला कारागारको खाली रहेको भवनमा केन्द्र स्थापना गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी थिइन् । केन्द्रीय कारागारमा ब्लक प्रवेशको एकमात्र द्वार भएको, कैदीबन्दीका लागि खटिएका सुरक्षाकर्मीको घेराभित्र नै उक्त ब्लक कायम रहेको तथा ब्लक भित्रको संरचना कैदीबन्दी प्रयोजनका लागि निर्माण गरिएको हुँदा बाल बिजाइँकर्ता राख्न उक्त स्थान उपयुक्त नभएको मन्त्री श्रेष्ठले बताइन् । उनका अनुसार भक्तपुरलगायत जिल्लाका बाल बिजाइँकर्ता राख्न स्थान अभाव भएकाले तत्कालै विदुर–१ स्थित नुवाकोट जिल्ला कारागारको खाली भएको भवनलाई स्तरोन्नति गरेर केन्द्र सञ्चालन गर्न लागिएको हो । त्यसका लागि आवश्यक संरचना निर्माण कार्य एक महिनाभित्र पूरा गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई २०८१ भदौ १५ गते केन्द्रीय कारागार सञ्चालनमा आएसँगै स्थानान्तरण गरिएकाले उक्त स्थानमा खाली भएका ब्लकलाई बाल बिजाइँकर्ता राख्न बालसुधार केन्द्रका रूपमा सञ्चालन गरिने भएको छ । यससम्बन्धी आवश्यक निर्णय सम्बन्धित निकायबाट गराउने मन्त्री श्रेष्ठबाट प्रतिबद्धता आएसँगै कार्य प्रारम्भ गर्न थालिएको छ । आवश्यक संरचना अबको एक महिनाभित्र निर्माण गरी १६० बाल बिजाइँकर्ता नुवाकोट ल्याउने योजना छ ।
हाल देशका विभिन्न नौ स्थानमा बालसुधार केन्द्र सञ्चालनमा रहेकाले त्यसमध्ये बाल बिजाइँकर्ता ठहरिएर १८ वर्ष उमेर पूरा भएका पुरुषलाई नुवाकोटस्थित बाल सुधार केन्द्रमा ल्याउन लागिएको हो ।