तनहुँस्थित भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो ।
स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय शहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको छ ।
उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
नगर प्रमुख त्रिपाठीले गत आर्थिक वर्षमै रम्घा डाँडामा आवश्यक रिटेनिङ वाल निर्माण तथा जग्गा अधिग्रहण काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको छ ।
भानु साहित्य उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अघि बढाइएको त्रिपाठीको भनाइ छ ।