रुपन्देहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । बिहीबार दिउँसो तिलोत्तमा नगरपालिका–२, तपाहा लाइनस्थित सडकमा लु ६१ प ५८७८ र लु ६८प ५२३६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा लु६८प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका–१, सादभोद्रको २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा लु६१प ५८७८ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते छन् । लु६८प ५२३६ नम्बरको मोटरसाइकलमा सवार एकजना पनि घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।