माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको छ ।
दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष एवं प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उहाँले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्याङ्कन गरी छलफलपछि निर्णय गरिने बताउनुभयो ।
विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिनुभयो । देवघाट गाउँपालिका–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।