आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हामी समग्र गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने अभियानमा छौँ : अध्यक्ष, केदारनाथ खतिवडा

हामी समग्र गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने अभियानमा छौँ : अध्यक्ष, केदारनाथ खतिवडा

नागरिक पाटी

३०, पौष २०८२
  • 3.9K
    SHARES
  • हामी समग्र गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने अभियानमा छौँ : अध्यक्ष, केदारनाथ खतिवडा

    - केदारनाथ खतिवडा

    images

    यो बालमैत्री वडा घोषणा कार्यक्रमको सन्दर्भमा म केही कुरा राख्न चाहन्छु । यो अभियान हाम्रो अघिल्लो कार्यकालका निर्वाचित जनप्रतिनिधिहरूले “यो आवश्यक छ र यो गर्नुपर्छ” भनेर सुरुवात गर्नुभएको थियो । हामी निर्वाचित भएर आइसकेपछि, उहाँहरूले सुरु गरिदिनुभएको यो कार्यलाई सम्पन्न गर्ने जिम्मेवारी र दायित्व हामीले बोक्यौँ । हामीलाई पनि यो काम गर्नुपर्छ भन्ने लाग्यो र आज यसलाई घोषणाको चरणसम्म पु¥याएका छौँ । अब हामी गाउँपालिकाका आठै वटा वडा घोषणा गरेर समग्र गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्नेछौँ र यसको दिगोपनाका लागि योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।

    बालबालिका भनेको भोलिको समाज र भोलिको भविष्य हुन् । बालबालिका नै सबै थोक हो भन्ने निष्कर्ष निकालेर हामीले यो क्षेत्रमा लगानी सुरु गरेका हौँ । यदि हामीले यो लगानी भौतिक पूर्वाधारमा गरेको भए अहिले ठूलै भवन ठडिन्थ्यो होला, त्यसको श्रृंगार पटार पनि देखिन्थ्यो होला तर, यदि हामीले बालबालिकालाई सक्षम, चेतनशील र ज्ञानी बनाउन सकेनौँ भने ती ठूला भवन र संरचनाहरू पनि छिनभरमै ध्वस्त हुन सक्छन् । जब बालबालिका सक्षम हुँदैनन् र उनीहरूलाई सही मार्गमा लगाउन सकिँदैन, तब त्यस्ता संरचनाहरू जोगिन सक्दैनन् त्यसकारण, हामीले बाल मनोविज्ञान र मस्तिष्कमा ज्ञान भर्न, उनीहरूलाई असल कुरा सिकाउन र राम्रो–नराम्रो छुट्याउन सक्ने बनाउन लगानी गरेका हौँ ।

    यो बालमैत्री घोषणाका लागि हामीले स्वास्थ्य, शिक्षा र शासनका क्षेत्रमा धेरै वटा सूचकहरू पूरा गर्नुपर्ने हुन्छ । यसले हामीलाई बालमैत्री शासनका लागि के–के कुरा अनिवार्य छन् भन्ने पनि सिकायो । वडा नम्बर ८ को घोषणा गरिरहँदा यहाँका १११४ बालबालिकाको मात्र कुरा होइन, अब भोलि जन्मने बालबालिकाले पनि यो अवसर र सुनिश्चिता पाउनुपर्छ । यसलाई दिगो रूपमा अगाडि बढाउन अबका जनप्रतिनिधि, नागरिक र कर्मचारी सबैलाई एउटा चुनौती र बाध्यता छ, जसलाई हामीले स्वीकार गरेका छौँ ।

    अहिलेको जमाना बदलिएको छ । एउटा परिवारमा एक वा दुई वटा मात्र बच्चा हुन्छन्, उनीहरूलाई राम्रो बनाउन अभिभावकले ठूलो सपना देख्नुहुन्छ र लगानी गर्नुहुन्छ तर, राम्रो बनाउँदा बनाउँदै बालबच्चाहरू कुन बेला र कसरी बिग्रे भन्ने पत्तै हुँदैन यो बालमैत्री अभियानले बालबालिका बिग्रन सक्ने ठाउँहरू र सुधार गर्नुपर्ने क्षेत्रहरूका बारेमा पनि हामीलाई सिकाएको छ ।
    हाम्रो मुख्य चाहना भनेको हाम्रा बालबालिकाहरू सडकमा आउन नपरोस्, उनीहरू निकृष्ट बालश्रममा जोडिन नपरोस् र उमेर नपुगी बालविवाह जस्तो घृणित कार्यको सिकार हुन नपरोस् भन्ने हो । उनीहरूले आफ्नो उमेरमा पाउनुपर्ने संरक्षण, शिक्षा, अवसर र अधिकार प्राप्त गर्दै सामाजिक जीवनका सबै क्षेत्रमा सहभागिता जनाउन पाउनुपर्छ ।

    अन्त्यमा, यो अभियानलाई सफल बनाउन अहोरात्र खट्नुहुने वडा अध्यक्ष, वडा समिति, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, बाल क्लबका भाइबहिनीहरू र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरूलाई म गाउँपालिकाको तर्फबाट धन्यवाद र आभार व्यक्त गर्दछु । यो कार्यक्रमको निरन्तरताका लागि गाउँपालिका जस्तोसुकै सहयोग गर्न पनि तत्पर छ । यो अभियान केवल एउटा घोषणा मात्र होइन, यो त भोलिको नेपाल बनाउने र हाम्रो भविष्य सुन्दर बनाउने महाअभियान हो । यसलाई सफल बनाउन तपाईंहरू सबैको निरन्तर साथ रहनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद ।


    (गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले गल्छी गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रममा गर्नुभएको सम्बोधनको सम्पादित अँश)

    images
    images
    images
    प्रकाशित मिति :पौष ३०, २०८२ बुधवार - ०९:३५:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology