सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखाबाट ठूलो परिमाणको नगद लुटपाट गर्ने घटनामा संलग्न नकाबधारी लुटेराहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्लाको साविक उग्रतारा जनगाल गाविस–२ हाल बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही स्थानका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान तथा १६ वर्षीय एक बालक रहेका छन् । घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान बैंक रहेको घरधनी हुन् ।
प्रहरीका अनुसार गत पुष २९ गते राति ६ जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए । त्यसपछि बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकमा रहेको ३ करोड ७ लाख रुपैयाँ नगद लुटी लुटेरा फरार भएका थिए ।