गोरखा जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
जसबापत किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानले रु एक करोड ५० लाख बराबरको कागतीसमेत बिक्री गरेको उनले जानकारी दिइन् । उनका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका रेग्मीको भनाइ छ ।
गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०र८१ मा एक हजार ६०० मेट्रिक टन र २०७९र८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो ।