त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बस उत्खनन कार्य १७ दिनपछि बन्द गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा गत पुस २७ गते गाडीको केही भाग फेला परेपछि बस उत्खनन कार्य सुरु गरिएको थियो ।
उत्खननका क्रममा २०८१ असार २८ गते चितवनको भरतपुर–२९, सिमलतालबाट पहिरोसहित त्रिशुलीमा खसेका दुई वटा गाडीमध्ये गणपति डिलक्स रहेको पुष्टि भएपछि उत्खनन कार्यलाई थप तीव्रता दिइएको थियो । सोमबार साँझ एउटा मानव अवशेषसमेत फेला परेको थियो ।
उक्त अवशेष थप परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । उत्खनन गर्दा देखिएको गाडीको भाग सबै पार्टपुर्जा काटेर निकालिएकोले थप उत्खनन कार्य बन्द गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।