नेपाल र चीनबिचको व्यापारिक ‘लाइफलाइन’ स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको विस्तार कार्यले गति लिने भएको छ । लामो समयदेखि विभिन्न प्राविधिक तथा प्रशासनिक उल्झनमा अल्झिएको यो आयोजनामा अहिले चिनियाँ निर्माण व्यवसायी परिचालन भएसँगै आशा जागेको हो । सडक विभागका अनुसार चीन सरकारको पूर्ण अनुदान सहयोगमा विस्तार हुन लागेको यो सडक खण्डमा काम अघि बढाउन चिनियाँ टोली साइटमा खटिसकेको छ ।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले आयोजनास्थलमा चिनियाँ पक्षको उपस्थिति भइसकेको जानकारी दिए । अर्यालका अनुसार चिनियाँ ठेकेदार कम्पनीले आफ्ना कामदार र प्राविधिकहरूलाई साइटमा परिचालन गरिसकेको छ ।