धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ निर्वाचन क्षेत्र नं.१ मा नेकपाले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

गत फागुन ४ गते गजुरीबाट सुरु भएको अभियानले अहिले गल्छी गाउँपालिकामा तीव्रता पाएको हो । शुक्रबार उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेसहितको टोलीले गल्छी गाउँपालिकाका वडा नं. १, २ र ३ का विभित्र बस्तीहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेको छ । टोलीले बिहानैदेखि गल्छी–१ को फोस्रेटार, पारिलाछाप, दलाङ्ग, सुनटार, कल्लेरीटार, घर्तीटार, मसटार, धैरेनी र केउरीनीटारमा घरदैलो सम्पत्र गरेको छ ।

त्यस्तै, टोलीले वडा नं. २ र ३ को भूत्याहा र बेलिनीटार क्षेत्रका स्थानीय बासिन्दासँग भेट गरी आगामी विकासका योजना र समृद्घिका एजेन्डाहरूबारे छलफल गरेको छ । घरदैलोका क्रममा उम्मेदवार पाण्डेले स्थानीय पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण र रोजगारी सिर्जना आफ्ना मुख्य प्राथमिकता रहेको बताएका छन् ।