वाग्मती प्रदेशमा मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने तथा ७०१ कर्मचारीको दरबन्दी कटौती गर्ने प्रस्ताव गरिएको छ । प्रदेश प्रशासनिक पुर्नसंरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आठवटा मन्त्रालय मात्रै आवश्यक रहेको औँल्याउदै प्रशासनिक संरचना पुनर्संरचना गर्न प्रदेश सरकारलाई सुझावसमेत दिएको छ ।
समितिका संयोजक तथा सरकारका पूर्वसचिव विमल वाग्लेले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उच्चस्तरीय प्रदेश प्रशासनिक पुनर्संरचना निर्देशक समितिका संयोजक तथा कृषिमन्त्री मधुसुदन पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
उक्त अध्ययन टोलीमा पूर्वसचिव रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल, जीवनप्रभा लामा सदस्य तथा प्रदेशसचिव पूर्णबहादुर दर्जी सदस्यसचिव थिए । टोलीले मंसिर पहिलो सातादेखि अध्ययन सुरु गरी करिब तीन महिनापछि प्रतिवेदन बुझाएको हो ।