रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा सवारी दुर्घटना हुँदा बुटवलका २१ वर्षीय एक युवाले ज्यान गुमाएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने २१ वर्षीय उमेश गुप्ताको दुर्घटनामा परी ज्यान गएको हो ।
आज बिहान भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेश प्रदेश ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका उनलाई उद्धार गरी थप उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरी र ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।