धादिङ । प्रयास नेपालको आयोजनामा जलवायु–कृषक पाठशाला अन्तर्गत कृषि समूहका सहजकर्ताहरूका लागि आयोजित पुनर्ताजगी तालिम कार्यक्रम मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखा परिरहेका चुनौतीहरूबारे सहजकर्ताहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै कृषक पाठशालालाई अझ प्रभावकारी, व्यवहारिक तथा परिणाममुखी बनाउने उद्देश्यले तालीम गरिएको हो ।
तालिममा सहभागी सहजकर्ताहरूलाई जलवायु परिवर्तनको प्रभाव, जलवायुमैत्री कृषि अभ्यास, जोखिम न्यूनीकरण, दिगो कृषि प्रणाली तथा कृषक पाठशाला सञ्चालनसम्बन्धी विविध विषयमा आड्रा नेपालका कार्यक्रम अधिकृत माधव जंग महत,रुपेश तामाङ,पालिका कृषि शाखा प्रमुख जीवन तमाङ लगायतले प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरमा कृषकहरूसँग कार्य गर्दा अपनाउनुपर्ने व्यवहारिक उपायहरूबारे अनुभव आदानप्रदान गरिएको प्रयास नेपालका पशुसेवा प्राविधिक रुपेश तामाङले जानकारी दिनु भयो।
कार्यक्रमको सत्र खनियाबास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ,वडा नं.३ का वडा अध्यक्ष श्री कमान सिंह तामाङ तथा वडा नं. ५ का वडा अध्यक्ष श्री रविन कुमार तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। समापन अवसरमा अतिथिहरूले जलवायु परिवर्तनले कृषि उत्पादन, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनमा पारिरहेको प्रभावबारे चर्चा गर्दै बदलिँदो जलवायु परिस्थितिसँग अनुकूलन हुने आधुनिक, दिगो तथा जलवायु उत्थानशील कृषि प्रणाली अवलम्बन गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँहरूले कृषक पाठशालामार्फत कृषकहरूको व्यवहारिक ज्ञान र सीप विकास गरी स्थानीय स्तरमै उत्पादन वृद्धि, जोखिम न्यूनीकरण तथा दिगो कृषि विकासलाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो। साथै, जलवायुमैत्री कृषि प्रणालीलाई सुदृढ बनाउन स्थानीय सरकार, कृषक समूह तथा गैरसरकारी संस्थाहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।