मनसुन सक्रिय भएसँगै पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड अत्यन्तै जोखिमपूर्ण बनेको छ । राजमार्ग स्तरोन्नतिका लागि भइरहेको कटान र लगातारको वर्षाका कारण तनहुँ खण्डका दर्जनौँ स्थानमा पहिरो खस्ने र ढुङ्गा खसिरहने जोखिम बढेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मुसेखोला, घाँसीकुवा, छिर्कने, देउराली, विमलनगर, ढापटार लगायतका दर्जनौँ ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, ‘‘हिजो आँबुखैरेनी–२ मा लेदो पहिरो हटाएर र बिमलनगरको ढुङ्गा हटाएरु सडक सञ्चालनमा ल्याइएको थियो ।
विमलनगरस्थित सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चुनपहरा क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले पहाडबाट ढुङ्गा खस्ने जोखिम कायम नै रहेकोले सर्तक रहनु पर्ने बताउनुभयो ।
राजमार्ग तथा तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सडकसम्बन्धी कार्यालय तथा स्थानीय तहलाई ‘हाइ अलर्ट’ (उच्च सतर्क) अवस्थामा राखिएको जानकारी दिनुभयो ।
प्रशासनले यात्राका क्रममा पहिरो वा विपद्को अवस्था आएमा तत्काल जिल्ला आपत्कालीन सञ्चालन केन्द्र वा नजिकको नेपाल प्रहरीको टोलीलाई सम्पर्क गर्न आग्रह गरेको छ । मुग्लिन–आँबुखैरेनी खण्डदेखि पोखरासम्मै सडक हिलाम्मे र भिरालो भएकाले यो वर्षायामभरि पृथ्वीराजमार्गको यात्रा चुनौतीपूर्ण बन्ने देखिएको छ ।