काठमाण्डौँ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ।
रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे। अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ ९आईएनएफ० सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे।
उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन्।
अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए। उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन। यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए। राजधानी दैनिकमा खबर छ ।
२०७६ साउन १९ गते प्रकाशित