विपिन मल्ल
धादिङ । धादिङको गल्छि गा.पा ६ महेशदोभान स्थीत अम्लेश्वर महादेव मन्दिर परिसरमा आज जनैपुर्णिमा दिन विहानै देखि भिड लागेको छ । विशेष गरी हिन्दु धर्मालवम्बीले मनाउने गरेको जनै पुर्णिमा आज देशभर मनाईदै छ । ब्राह्मण तथा क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुासर यज्ञोपवित अर्थात जनैे वार्षिक रुपमा परिवर्तन तथा धारण गर्ने पर्वको रुपमा यो पर्व मनाउने गरिएको छ ।

शास्त्रीय मान्यता अनुसार तागाधारी अर्थात ब्राह्मण, क्षेत्री र बैष्य जातीले वर्षभरी वेद पढेर त्यसको समाप्ती गर्ने दिनमा जनैपुर्णीमा मनाउने गरिन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, बिहानै नदी तलाउमा गाईको गोबर तथा तुलसीको माटो लगाई स्नान गर्ने प्रचलन छ । स्नान गरी जौ, तिल र कुशद्धारा सप्तऋषी, ब्रह्मा, विष्णु र महेश्वरको पुजा गरी जनै मन्तरेर नयाँ जनै र्फेर्ने धार्मिक प्रचलन रहि आएको छ ।

जनैमा रहेको शिखा अर्थात ससाना गाठालाई जनैको मुटुको रुपमा लिइन्छ । जनै धारण गर्दा शरीरको रक्षा गर्ने, आयु बढाउने, शक्ति प्रदान गर्ने तथा नित्य कर्ममा लाग्न प्रेरित गर्ने धार्मिक विश्वास छ । जनैपुर्णिमाका दिन ब्राम्हणद्धारा जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ९डोरो० बाध्ने प्रचलन छ ।

जनैपुर्णिमाकै दिन नेवार समुदायले ‘गुन्हु–पुन्ही’ भन्ने परम्परागत पर्व मनाउने गर्छन । तराई क्षेत्रमा दिदि बहिनीले आफनो दाजु भाईको नाडीमा दिर्घायू तथा सुस्वास्थ्यको प्रतिक स्वरुप जनैपुर्णिमाकै दिन राखि बाध्ने चलन छ । अहिले पहाडमा पनि राखिले उस्तै महत्व पाउन थालेको छ ।

अम्लेश्वर मन्दिरमा जनैपुर्णिमा, हरितालिका तिज र ठुलो एकादशिमा विशेष मेला लाग्ने गर्दछ ।



२०७६ साउन ३० गते प्रकाशित