आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अस्मिताको बयान : "हतोत्साही गराएकाले शालिकरामले आत्महत्या गरेको हुनुपर्छ"

अस्मिताको बयान : "हतोत्साही गराएकाले शालिकरामले आत्महत्या गरेको हुनुपर्छ"

  • 3.9K
    SHARES
  • अस्मिता  कार्की करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो । शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र मेरोबीच भएका कुराकानीका म्यासेजहरू सार्वजनिक गरी तिम्रो बेइज्जत गरिदिन्छु र म पनि विष खाएर मरिदिन्छु भनी मलाई दुःख दिने गर्थे । वारदातभन्दा करिब सात–आठ दिनपहिले मैले उनी पहिले नै विवाहित हुन् भन्ने थाहा पाएँ । झुठो बोलिरहेका छन् भन्ने प्रस्ट भएपछि तिमीले मलाई फसायौ भनी गाली गरेँ । मेरो पिछा गर्न छाडिदेउ पनि भनेँ । तर, मलाई पटक–पटक फोन गरी, बाटोसमेत छेकी दुःख र हैरानी दिन नछोडेकाले मैले सो कुराको जानकारी उनले पहिले काम गर्ने न्युज २४ टिभीको ‘सीधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई भनेमा उनीहरूले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाइदेलान् भन्ने सोचेँ । त्यसैले घटना हुनुभन्दा चार–पाँच दिनपहिले सो टेलिभिजनका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेर भेटी रवि लामिछानेसमेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकरामबीच भएका म्यासेजहरूका केही स्क्रिन सर्टहरूसमेत दिएकी थिएँ । उनैले भनेअनुसार मैले न्युज २४ को कार्यालयअगाडि उभिएको फोटो खिची शालिकराम पुडासैनीलाई पठाएकी थिएँ, सो विषयमा अनिल ढुंगेलले रवि लामिछाने, युवराज कँडेलसमेतलाई जानकारी गराएको भनेका थिए । पछि, अनिल ढुंगेलले आफूले मृतक शालिकराम पुडासैनीलाई फोन गरी केही कुरा गरेकोसमेत भनेका थिए । मैले केही म्यासेजका स्क्रिन सटहरू मृतकका फेसबुक साथीहरू कृष्ण थापा, प्रतिमा देवकोटा, बेविका भण्डारीसमेतलाई म्यासेजमार्फत पठाएकी थिएँ । सोपश्चात् पनि शालिकराम पुडासैनीले मलाई पटक–पटक फोन गरिरहेका थिए, तर मैले उनको फोन वास्ता गरिनँ । गत २० साउन राति करिब १२ः३० बजेतिर अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी शालिकराम पुडासैनीसँग कुराकानी भएका कुनै पनि म्यासेजहरू डिलिट नगर्नु भनेका थिए । भोलिपल्ट बिहानको सिफ्टको ड्युटीमै हुँदा शालिकरामको मृत्युको बारेमा सुनी थाहा पाएकी थिएँ । पछि करिब १४ः३० बजेतिर न्युज २४ टिभीका अनिल ढुंगेल र दीपक बोहरासमेतले मलाई पटक–पटक फोन गरी भेट्न र पाँच मिनेटको भए पनि भिडियो बनाइदिन भनिरहेका थिए, तर म भेट्न गइनँ, भेट भएन । मृतकको मोबाइलबाट बरामद भिडियोहरू हेरेँ, सुनेँ । उक्त भिडियोमा मृतकले अस्मिता भन्ने रुकु कार्कीसँग रवि लामिछाने र युवराज कँडेलसमेत मिली योजना बनाई जालझेल गरी मलाई आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गरेकाले आफूले आत्महत्या गरेको भनेका रहेछन् । तर, मैले उनलाई यसरी आत्महत्या गर्नेसम्मको कुनै कार्य गरेकी छैन । उनले मलाई झुटो आश्वासन दिई प्रेममा पारी फसाएको र वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडिदेऊ भन्दासमेत नमानेकाले उनलाई सम्झाइदेलान् भन्ने मनसायले मैले रवि लामिछानेसमेतलाई भनिदिनु भनी न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेलसमेतलाई केही म्यासेजका स्क्रिनसटहरू दिएको हुँ । अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले ब्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ । सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ । (अदातलतमा प्रस्तुत अस्मिता भन्ने रुकु कार्कीको कागजी बयान) २०७६ भदौ १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - १८:४५:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology