आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

२०२२ विश्वकप छनोट : आज नेपाल र कुवेत भिड्दै

२०२२ विश्वकप छनोट : आज नेपाल र कुवेत भिड्दै

  • 3.5K
    SHARES
  • काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ । जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ । कुवेत भने जित हात पार्ने रणनीतिमा छ । नेपालले तुनात्मक रुपमा बलियो टोली कुवेतलाई रोक्ने योजना बनाएको प्रशिक्षक योहान कालिनने बताएका छन् । ‘कुवेत बलियो टोली हो । नेपालले पनि राम्रो तयारी गरेर आएको छ । हामी उत्कृष्ट खेल खेल्ने प्रयास गर्नेछौं,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा कालिनले भने । कुवेतसँगको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्नेछन् । यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोज्याकले आफ्नो टोलीले विश्वकपमा छनोट हुने योजनाका साथ लामो तयारी गरेको बताए । ‘हामीले नेपालसँगको खेललाई मात्र हेरेका छैनौं । छनोटका सबै खेल जित्ने कुवेतको लक्ष्य हो । नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ,’ जोज्याकले भने । फिफा वरियतामा समेत कुवेत नेपालभन्दा १० स्थान माथि छ । पछिल्लो बरियतामा कुवेत एक सय ५६ औं र नेपाल एक सय ६६ औं स्थानमा छ । यसअघि भएका खेलमा पनि नेपालले कुवेतलाई हराउन सकेको छैन । त्यसैले पनि नेपालका लागि बिहीबारको खेल अग्नी परीक्षा हुनेछ । नेपाल र कुवेत यसअघि ६ पटक भिडेका थिए । जसमा कुवेत पाँच खेलमा विजयी भएको छ । एक खेल बराबरीमा सकिएको थियो । दुई टोलीबीच सात महिनाअघि मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेल कुवेतले १–० गोलले जितेको थियो । २०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले यही भदौ २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । होम एन्ड अवेका आधारमा खेलाइने छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म चल्नेछ। नेपालले कुबेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा खेल्नेछ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग खेल्नेछ। नेपालले चाइनिज ताइपेईसँग सन् २०२० मार्च २६ र जोर्डनसँग सन् २०२० को जुन ४ मा दोस्रो खेल खेल्नेछ। समूह चरणको अन्तिम खेल नेपालले अस्ट्रेलियासँग अक्टोबर १० तारिख उसैको मैदानमा र सन् २०२० को मार्च ३१ तारिखमा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) ले दोस्रो चरणको छनोटमा सहभागी एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउनेछन्। २०७६ भदौ १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १५:५७:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology