काठमाडौं । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणको दोस्रो अवे खेलमा मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।
ताइपे रंगशालामा नेपालले घरेलु टोली चाइनिज ताइपेसँग चार बजेर ५५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई लिइएको छ ।
प्रशिक्षक योहान कालिन र कप्तान किरण चेम्जोङले पनि चाइनिज ताइपेसँग अंक खोस्नकै लागि खेल्ने बताएका छन् । ‘हामी पहिलो खेलमा पराजित भयौं। तर, हामी लयमा फर्किन चहान्छौं । हामी कहाँ चुक्यौं पत्ता लगाएका छौं,’ प्रशिक्षक कालिनले भने,‘हामी आफ्नो खेलमा फर्किने छौं जुन गल्ती कुवेतविरुद्ध भयो त्यो दोहोरिने छैन् ।’
त्यसो त, गत जुनमा नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल चाइनिज ताइपेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसअघि कुवेतलाई रोक्ने रणनीति बनाउँदै नेपालले ४–५–१ को फर्मेसनमा खेलेको थियो । तर यही रणनीति असफल हुँदा नेपालले ७ गोल खान पुग्यो । चाइनिज ताइपेसँग भने नेपालको रणनीति परिवर्तन हुन सक्ने प्रशिक्षक योहान कालिन बताउँछन् । यो चाइनिज ताइपेसँग भने नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ इलाभेन
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, रन्जित धिमाल
मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल
२०७६ भदौ २४ गते प्रकाशित
प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार -
२३:०५:१८ बजे