सन्तोष सुवेदी चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङले सञ्चालन गरिरहेको जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा परियोजना (एसभिसि) अन्तर्गत गठन भएका बाल क्लवहरुको निरिक्षण गरिएको छ । बिद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको शिक्षाको गुणस्तर बढाउने तथा समाजमा जोखिम पुर्ण अबस्थामा रहेका, शिक्षाबाट बन्चित बालबालिकाहरुलाई बिद्यालय सम्म पुर्याउने उदेश्यले यस सिड्स नेपाल धादिङले थाक्रे गाउँपालिका वडा नम्बर २, ४, ५, ६ र ११ मा बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
जोखिममा रहेका बालबालिका भन्नाले बालश्रम, बाल दुब्र्यबहार, शैक्षिक सामाग्रीको अभाव, घरायसि वातावरणले वा अन्य कारणले बिद्यालय छोड्ने स्थितीमा पुगेका बिद्यार्थीहरु, टुहुरा एवम् अन्य कारणले बिद्यालय छाड्नु पर्ने स्थितीमा रहेका बालबालिका भनेर सम्झनु पर्दछ ।
थाक्रे गाउँपालिकाको ५ वटा वडामा काम गर्दै आएको (एसभिसि) परियोजनाले प्रत्येक बिद्यालयमा बाल क्लव गठन गरेको छ । बिद्यालयस्तरिय बाल क्लव माबि र निमाबि गरेर जम्मा ८ वटा समुह गठन भएका छन् । यस्तै वडा स्तरिय बाल क्लव सन्जाल ४ वटा गठन भएका छन् भने समुदायस्तरको बाल क्लव जम्मा ७ समुह बनाईएको जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजनाका कार्यक्रम अधिकृत दिलबहादुर रम्तेलले जानकारी दिनुभयो ।
निरिक्षण कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर ४ र ५ मा रहेका बिद्यालय तथा वडा स्तरिय गठन भएका बाल क्लवहरुको भेलामा राय सुझाव सँकलन समेत गरिएको छ । आदर्श माध्यमिक बिद्यालय दामेचौरमा गठन भएको काफे मुनाल बाल क्लवको निरिक्षण एवम् छलफल कार्यक्रम सम्पन्न गरिएको छ । सोजना तामाङको अध्यक्षतामा गठन भएको यस काफे मुनाल बाल क्लवमा युनिषा तामाङ सचिव रहनु भएको छ ।
बाल क्लव गठन भएसँगै बोल्न सक्ने, आफ्ना अधिकारका लागी आवाज उठाउन सक्ने तथा समाजमा रहेका जोखिम युक्त बालबालिकाहरुलाई बिद्यालय सम्म ल्याउने, बिद्यालयमा रहेका बालबालिकाहरुलाई सहज वाताबरणमा पढ्न पाउने र उनीहरुको हक, अधिकार दिलाउन पनि सिड्स नेपाल धादिङको सहकार्यमा निकै सहज भएको सोहि बाल क्लवकी अध्यक्ष सोजना तामाङले बताएकी छिन् ।
जोखिममा रहेका बालबालिकाहरुलाई सिड्स नेपाल धादिङले बितरण गरेको शैक्षिक सामाग्रीले निकै राहात दिएको बताएका छन् । समाज तथा बिद्यालय हातामा अन्य जोखिम युक्त बालबालिका भए सिड्स नेपालले सहयोग गर्नुपर्ने र आगामी दिनमा पनि सिड्स नेपालले गरेको यो काम निरन्तर हुनु पर्ने बताएका छन् । नियमित बैठक बस्दै आएको र बाल क्लव गठन भएसँगै धेरै बिद्यार्थी साथीहरुको आत्मावल बढेको अनुगमनले देखाएको छ ।
बाल बालिकाहरुमा सानै उमेरमा बिबाह गर्ने, बिद्यालय छाड्ने तथा घरायसि समस्याले गर्दा बिद्यालय जान नपाउने बिद्यार्थीहरुलाई लक्षित गरेर आएको यस परियोजनाले निकै उदाहरणीय काम गरेको बिद्यार्थी एवम् शिक्षकहरुले बताएका थिए । यसका लागी सडक नाटक, र्याली, सभा लगायतका कामबाट बालबबिाह, बाल षोशण केहि हद सम्म कम गर्न सकिने निस्कर्ष बिद्यार्थी आफैँले निकालेका थिए ।
महाकालि माबि तसर्पुमा गठन भएको लाली गुँरास बाल क्लवको पनि निरिक्षण गरिएको छ । मनिषा तामाङको अध्यक्षतामा गठन भएको लाली गुरास बाल क्लवका सदस्यहरुले बिगतका दिनहरुमा बिबिध कार्यक्रम गदैै आएको भन्दै अब आउने दिनमा पनि उत्प्रेरणामूलक तथा समाज परिवर्तनमा सहयोग पुग्ने खालका काम गर्दै जाने बताएका छन् ।
यस सिड्स नेपाल धादिङले बाल क्लवले गरेको काममा साथ दिनु पर्ने बताएका थिए । बिद्यार्थीहरुले अब आउने चाडमा निकै लामो समय बिद्यालय बन्द हुने भएकाले यो समयमा कुनै सिप तथा प्रभावकारीमूलक कार्यक्रम गर्ने काममा सहयोग गर्न सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति समक्ष राखेका थिए ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको यस परियोजनाले थाक्रे गाउँपालिका वडा नम्बर ४ र ५ मा पनि छलफल गरिएको छ । थाक्रे ४ का वडा अध्यक्ष गणेशमान वाईवाले बालबालिकाहरुको क्षेत्रमा रकम नै छुट्टाएर काम गर्दै आएको बताएका थिए । सिड्स नेपालले गरेको सहयोग निकै उदाहरणीय रहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । बाल बिबाह, महिला शसक्तिकरण लगायतका क्षेत्रमा वडाले बजेट राखेर बिबिध कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा दिने यस परियोजनाले अझ सशक्त भएर अगाडी बढ्न शुभकामना दिनुभयो । यस्तै थाक्रे वडा ५ का अध्यक्ष भुमी बहादुर तामाङले पनि बालबालिकाको क्षेत्रमा सँबेदनशिल भएर काम गरिरहेको बताएका छन् ।
चन्द्र ज्योति एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा दिन आएको यस परियोजनाले समाजमा जोखिम युक्त अबस्थामा रहेका बालबालिकाहरुलाई शिक्षा सम्म पुर्याउने, बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिँदै बिद्यालयमा टिकाउने साथै समाजमा पछाडी परेका बालबालिकाहरुलाई सुरक्षा स्वरुप बिबिध कार्य गर्ने बताउनुभयो ।
बिद्यालय स्तरिय बाल क्लव, समुदाय स्तरको बाल क्लव र वडा स्तरिय बाल क्लव गरेर तिन क्षेत्रमा बाल सन्जालहरु गठन भएका छन् । यसको मुख्य उदेश्य भनेकै जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा दिने, बिद्यालय छाड्ने बिदार्थीको सँख्या कम गर्ने, अपहेलित बालबालिकाहरुलाई सुरक्षा दिने लगायतका रहेको एसभिसि परियोजनाका कार्यक्रम सँयोजक दिल बहादुर रम्तेललेबताउनुभयो ।
यो काम निकै सकारात्मक तथा समाज परिवर्तनमा ठुलो सहयोग पुग्ने थाक्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजकुमार पौड्यालले बताउनुभयो । आफ्नो वडामा पनि त्यस्ता ब्यक्तिको पहिचान गरि सुरक्षा स्वरुप बिभिन्न योजनाहरु बनाउने बताउनुभयो ।
जिल्ला समन्वय समीतीका सदस्य उर्मिला रेग्मीले बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सिड्स नेपालको यो परियोजनाले आर्थिक अबस्था कमजोर भएका, घरपरिवारमा कुनै सदस्य नभएकै कारण अपहेलित भएर बस्नु परेको, शोषणमा परेका गरि जोखिम युक्त बालबालिकाहरुलाई सुरक्षा दिने काम निकै सराहनिय भएको बताउनुभयो ।
अनुगमन समीतीका सँयोजक अरुन लामाले बालबालिकाहरुले पढाईमा राम गर्न, उपलब्धि मूलक नतिजा ल्याउन तथा शिक्षालाई गुणस्तरिय बनाउन निरन्तर अनुगमन तथा शिक्षकको बिषेश भुमिका हुने बताउनुभयो । अहिले आएको यस परियोजनाले बिल्कुनै नयाँ कामको थालनी गरेको भन्दै यो नतिजा बिद्यार्थीहरुमा देखिनुपर्ने बताउनुभयो ।
सिड्स नेपाल धादिङको यस परियोजनाले एक महिना अघि बिभिन्न बिद्यालयका १ सय ९ जना बिद्यार्थी शैक्षिक समाग्री, झोला, जुत्ता, बिदालय पोषाक लगायत गरि एक जना बराबर ३ हजारको सामाग्री बितरण गरेको थियो, अनुगमनमा थाक्रे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पौड्याल, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेति, जिल्ला समन्वय समीती सदस्य उर्मिला रेग्मी, जोखिममा रहेका बालबालिकालाई सुरक्षा एसभिसि परियोजनाका कार्यक्रम सँयोजक दिल बहादुर रम्तेल, अनुगमन समीतीका सँयोजक अरुन लामा, थाक्रे ५ का वडा सदस्य रजनी लामा लगायतको सहभागीता रहेका थियो ।
२०७६ असोज ०७ गते प्रकाशित