धादिङवेशी । धादिङमा “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना” कार्यक्रम शुभारम्भ भएको छ । नेपालीहरुको महान चाड विजयादशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा यो कार्यक्रमको सुभारम्भ गरिएको हो । लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुको सुरक्षित यात्रालाई लक्षित गर्दै सबैलाई सडक दुर्घटना न्यूनिकरण अभियानमा सहभागी गराउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियान सुरु गरिएको जनाईएको छ ।
उक्त कार्यक्रम तथा अभियानको शुभारम्भ गरी यात्रु तथा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुसंग सम्बन्धीत २०० थान पम्प्लेट समेत वितरण गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले बताए ।
उनका अनुसार निलकण्ठ ३ स्थित पुच्छारबजारमा भएको कार्यक्रममा प्रतिनिधीसभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार, राष्ट्रिय अनुसन्धान विभाग धादिङका प्रमुख मुकुन्द मरठ्ठा, देवीदत्त गण धादिङवेशी सुरक्षा गुल्मका सेनानी सुदर्शन के.सी., सशस्त्र प्रहरी बल नेपाल गुल्म धादिङका स.प्र.ना.उ. धिरेन्द्रराज न्यौपाने, ट्राफिक प्रहरी, ग्रामिण यातायात व्यवसायी संघ, धादिङ मण्डली यातायात प्रा.लि. तथा धादिङ यातायात व्यवसायी संघका प्रमुख एंव् प्रतिनिधीहरु, संचारकर्मी, सवारी चालकहरु, यात्रुहरु, नागरिक समाज समेतको उपस्थिति रहेको थियो ।
२०७६ असोज १२ गते प्रकाशित