१५ मंसिरबाट औपचारिक रूपमा उद्धाटन हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरू हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।
मन्त्री सुनारका अनुसार मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्धाटन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै साग खेलकुदको सुरक्षाको तयारीसमेत पूरा भइसकेको छ । साग खेलकुदको सुरक्षाको भित्री घेराको जिम्मा नेपाल प्रहरीले गर्ने भएको छ । त्यस्तै बाहिरी घेरामा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना रहने जनाइएको छ ।
दोस्रो पटक नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद साग काठमाडौं ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । १५ मंसिरदेखि २४ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सुरक्षा तयारी पूरा भइसकेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलको भनाइ छ ।
सागको सुरक्षा व्यवस्थाको संयोजक प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल आफैंले गर्नेछन् । सुरक्षाको सम्पूर्ण व्यवस्थापन खनाल आफैंले गर्ने डीआईजी पोखरेलले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार खेल अवधिभर नेपाल प्रहरीले मात्र उपत्यकामा १० हजार बढी प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरी बललेसमेत डीआईजीको नेतृत्वमा उपत्यकामा ५ हजार २ सय सुरक्षाकर्मी परिचाल गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले जानकारी दिए ।
त्यति नै मात्रामा नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाइएको जनाएको छ । सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेलाडी, अतिथि, अफिसियलको वासस्थान र खेलहुने मैदान र हिँड्ने रुटको विशेष सुरक्षा गर्ने डीआईजी श्रेष्ठको भनाइ छ । सागमा विभिन्न खेलमा गरी ३ हजारभन्दा बढी खेलाडी र २ हजारभन्दा बढी अफिसियल र निर्णायक मण्डल सहभागी हुने खेलकुद परिषदले जनाएको छ ।
साग खेलकुदलाई नै दृष्टिगत गर्दै उपत्यकाको ट्राफिक व्यवस्थामा समेत कडाइ गरिएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार नियमित जनशक्तिबाहेक साग खेलकुदलाई मध्यनजर गरेर थप ट्राफिक प्रहरी खटाइने बताए ।
२०७६ मँसिर १२ गते प्रकाशित