आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कैलाश बिकास बैकको किर्ते कर्तुत छताछुल्ल

कैलाश बिकास बैकको किर्ते कर्तुत छताछुल्ल

विष्णु ठकुरी

७, फाल्गुण २०७६
  • 5.8K
    SHARES
  • काठमाडौं, ५ फागुन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो आमाले लिएको ऋणलाई प्रयोग गर्दै किर्ते गरी पत्रिकामा नाम प्रकाशित गर्न अन्तिम चरणमा पुग्दै गर्दा कँडेल आफैंले घट्नाको पर्दाफास गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने गलत उद्देश्यका साथ यस्तो हर्कत अपनाएको दाबी गरे । उनले भने,‘मेरो बुवा आफैं पनि ऋण तथा असुली न्यायाधिकरणका न्यायाधीशको रुपमा कार्यररत हुनुहुन्थ्यो, र, उहाँले आफ्नो गृहजिल्ला स्याङ्जामा पनि विभिन्न वित्तिय संस्था तथा हाल प्रभु बैंक रहेको तत्कालिन गौरीशंकर विकास बैंकसमेत खोल्न निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । त्यो बैंकको त उहाँ आफैं प्रथम महाप्रबन्धक हुनुहुन्थ्यो । अहिले बुवा स्वर्गवास हुनुभयो, उहाँको निधनपछि अहिले यस्तो प्रपञ्च रचिएको मलाई भान हुन थालेको छ । यसको पछाडि उहाँहरुको अरु भित्री के उद्देश्य छ ? त्यो त मलाई थाहा छैन् । तर, म अन्याय र अत्याचारको विरुद्धमा कुनैपनि सम्झौता गर्दिन् । आजबाट गलत र कुत्सित मनशाय बोक्ने कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाविरुद्धको लडाई सुरु भयो ।’ उनले आमा लिला कँडेलले लिएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आईरहेको अवस्थामा बुवाको निधनपछिको किस्ता चलाउन केही कठिनाई भएको कुरा पनि आफ्नो परिवारले बैंकलाई स्पष्ट रुपमा भनिएको जानकारी दिए । उनले भने,‘मेरो आमाले बैंकलाई समयमै किस्ता तिर्दै आउनुभएको थियो । बुवाको निधनपछि किस्ता चलाउन केही समस्या भएको कुरा उहाँले बैंकलाई स्पष्ट रुपमा जानकारी गराउनुभएको थियो । म, आफैंले पनि यो कुरा बैंकको काठमाडौंस्थित् केन्द्रीय कार्यालयमै पुगेर जानकारी गराएको थिएँ । तर, बैंकले यही अवस्थालाई प्रयोग गरेर हाम्रो परिवारमाथि षड्यन्त्र गरि आमा र बुवाको प्रतिष्ठामाथि दाग लगाउने प्रपञ्च रच्यो, जुन कुरा उसले पठाएका चार वटा पत्रबाट पनि पुष्टि हुन्छ ।’ उनले बैंकले आमाको नाममा प्रेषित गरेका चार वटा पत्रमा बेग्ला बेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरेको दाबी गरे । उनले भने,‘बैंकले यतिसम्म पनि गर्दोरहेछ भन्ने कुरा हामीले प्रत्यक्ष रुपमा भोग्यौं । म आफू नै ग्यारेन्टर हुँदापनि अहिलेसम्म कुनैपनि पत्र र त्यसम्बन्धी कुनैपनि विद्युतीय सन्देश (ईमेल) मलाई प्रेषित गरिएन् । तर, जब एकैपटक भित्री सूत्रबाट नाम निकाल्नको लागि बैंक अघि बढेको भन्ने जानकारी पाएँ, त्यसपछि मात्रै मैले केन्द्रीय कार्यालय गएर यो एकैपटक पत्रिकामा सूचना प्रकाशित हुँदैछ भन्ने समाचारको आधार मागेको थिएँ । केन्द्रीय कार्यालयका एक कर्मचारीले शाखाबाट पत्र आएकोले हामीहरु यो प्रक्रियामा (पत्रिकामा सूचना प्रकाशित) गर्न लागेका हौं भन्ने जवाफ दिए । त्यसपछि मैले आधार देखाउन मागेको थिएँ । र, उहाँले चार वटा पत्र मलाई थमाउनुभयो, त्यसमा बैंकको शाखाले आमाको हस्ताक्षरसहितको पत्र पठाएको देखें । यो देख्नेबित्तिकै आमालाई फोन सम्पर्क गर्दा उहाँले अहिलेसम्म मैले कुनैपनि पत्रमा हस्ताक्षर गरेको छैन् भनेर जवाफ दिनुभयो, त्यसपछि मैले पत्र नियाँल्दा बैंकले गरेका गम्भिर त्रुटीहरु पनि फेला पारें ।’ बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने बताउँदै कँडेलले भने,‘तर, किर्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाईदा उठाउन यस किसिमको प्रपञ्च रच्ने कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुविरुद्ध म पब्लिक ईनोभेटरको नाताले लड्ने घोषणा गर्छु ।’ उनले बैंक तथा वित्तिय संस्थाबाट हुने यस्ता खाले प्रपञ्च र गलत कार्यको डटेर सामना गर्नुपर्ने र आम जनतासामू ती क्रियाकलापहरु भण्डाफोर गर्नुपर्ने धारणा राखे । उनले बैंक तथा वित्तिय संस्थाबाट अत्याचार र अन्याय भएको भए नसहन आग्रह गरेका छन् । उनले उक्त किर्ते घट्नामा संलग्न सम्पूर्ण बैंक कर्मचारीलाई कानूनको कठघरामा उभ्याएरै छोड्ने उद्घोषसमेत गरे । कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले पठाएको पत्रका बारेमा बैंकको केन्द्रिय कार्यालयले कुनै जाँचबुझ नगरी सिधै ग्राहको मानमर्दन हुनेगरि पत्रिकामा निकाल्छु भन्नुले यो घट्नामा शाखाको मात्रै दोष नभएर यसमा केन्द्रिय कार्यालय पनि संलग्न देखिएको कँडेले आरोप लागाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७६ बुधवार - ०३:१८:४१ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology